जनकपुरधाम । आगलागीबाट क्षतिग्रस्त भएको घरको निरिक्षण गर्दै धनमालको धेरै क्षति भएको बताए । जनता समाजवादी पार्टीका नेता जीतेन्द्र कुमार यादवले आगलागीबाट क्षति भएको घरको शुक्रबार निरिक्षण गरेका छन् । आगलागी पीडितलाई हरसम्भव सहयोग गर्ने नेता यादवले आश्वासन दिए ।
दक्षिणी धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका वडा नं. ५ बेलामा भिषण आगलागी भएको छ । बिहीबार साँझ विद्युत सर्किट सर्ट भएर आगलागी हुँदा स्थानीय रामअशिष यादवको घर पूर्ण रुपमा क्षति भएको छ ।
आगलागीबाट ५० लाख भन्दा बढीको क्षति भएको पीडित यादवले जनाए । स्थानीयका अनुसार साँझ ७ बजेतिर भएको आगलागीले घरमा रहेको अन्नपानी, लत्ताकपडा, गरगहना, फर्निचर लगायतको सामानहरु जलेर नष्ट भएको थियो ।
१७ तोला सुन, २ किलो बढी चाँदी, दुई थान स्टिल दराज, तीन थान बक्स पलङ, टिनाको बक्साहरु समेत नष्ट भएको छ ।
परालको छानो रहेको घरमा भएको आगलागीले केहीबेरमै सबै सामान जलेर खरानी बनेको पीडितले बताए । आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको मुखियापट्टी मुसरनिया चौकीका सई प्रकाश राउतले जनाए । सई राउतका अनुसार आगलागी भएको घरको सम्पूर्ण सामान, अन्नपानी जलेर नष्ट भएको छ । पीडित यादवका अनुसार बुधबार मात्रै सटही गरेर ल्याएको तीन लाख भारतीय रुपैयाँसमेत जलेर नष्ट भएको छ ।
यता, आगलागी भएको घरको शुक्रबार बिहान प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले निरिक्षण गरेका छन् । पीडित परिवारसित भेटघाट गर्दै उनले राहतको लागि प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्