जनकपुरधाम, पुस १० गते । प्रदेश २ को नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावबाट प्रदेश सरकार विचलित नभएको सरकारका सरकार प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् ।
प्रदेश नामकरणका विषयमा सदनभित्रका राजनीतिक दलहरूबीच मतभिन्नता रहे पनि राजधानीका सन्दर्भमा जनकपुरधाम पक्षधरता अत्यधिक रहेको भन्दै मन्त्री साहले प्रदेश २ को नामाकरण मधेस हुनुपर्ने विषयमा सरकारले समिति नै गठन गरेर सत्ता साझेदार र प्रतिपक्षी दलहरूसँग कुराकानी गरिरहेको जानकारी दिए।
मधेस प्रदेश र राजधानी जनकपुरधाम हुनुपर्ने प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) नेपालको आधिकारिक धारणा रहेको औंल्याउँदै प्रवक्ता साहले नामकरण र राजधानी निर्धारणका विषय छिटो टुंग्याउनुपर्नेमा राजनीतिक दलहरू सहमत रहेकाले ती विषयमा यथाशीघ्र निचोडमा पुगिने बताए ।
उनले भने, ‘पार्टी र सरकारका आधिकारिक धारणाभन्दा फरक विचार प्रस्तुत गर्नेहरूको बुझाइ वा धारणा व्यक्तिगत हुन सक्छन् । कुनै पनि माननीय सदस्यको व्यक्तिगत धारणाका कारण प्रदेश नामकरण र राजधानीका विषयमा पार्टी वा सरकार अलमलमा रहेको वा लेनदेन गर्ने निष्कर्षमा पुग्नु हुँदैन ।’
उनले सत्तारुढ दल काँग्रेस र नेकपा एकीकृत समाजवादीसँगै अन्य दलहरूसमेत मधेस प्रदेशमै सहमत हुने वातावरण बनिरहेको पनि स्पस्ट पारे।
यसअघि सरकारका सदस्य एवम् जसपा नेपालका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले मधेस प्रदेश नभए वज्जिका र भोजपुरा क्षेत्रले जनकपुरधामलाई राजधानी स्वीकार गर्न नसक्ने चेतावनी प्रदेशसभा बैठकमा दिएका थिए ।
उनले प्रदेश नामकरणका सन्दर्भमा राजनीतिक बहस हुनुपर्ने बताउँदै मधेस आन्दोलनको स्वरमा मिथिला भोजपुरा, जानकी र जनक नभएको दाबी गरे ।
सदनभित्रका जसपा नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेश नेपाली काँग्रेस मिथिला भोजपुरा, नेकपा एमाले जानकी प्रदेश र नेकपा (एकीकृत समाजवादी जनक प्रदेशका पक्षमा रहँदै आएका छन।
प्रतिक्रिया दिनुहोस्