काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चुलिरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।
भेटघाटकै क्रममा चिनियाँ राजदूत यान्छीले बिहीबार नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी हुन् ।
भेटमा नेकपामा देखिएको विवाद र समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपामा विवाद चुलिरहेका बेला चिनियाँ राजदूतको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि राजदूत यान्छीले पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । त्यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् ।
यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्