जनकपुरधाम। कीर्ते नियुक्ति पत्र दिएर व्यक्तिसँग रकम ठगी गर्ने एक युवक धनुषाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनौजी गाउँपालिका १ बस्ने २५ बर्षीय शहादत्त राइन छन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका २ स्थित कदम चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।राइनले गाउँकै तीन जना युवकलाई सडक डिभिजन जनकपुर प्रदेश २ को कीर्ते नियुक्ति पत्र दिएर २ लाख रुपैयाँका दरले ठगी गरेको पाइएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी दिपक कुमार रायले बताए ।
धनौजी गाउँपालिका- १ बस्ने २० बर्षीय पारस कुमार पासवान, १९ बर्षीय बबलु पासवान र दीपेश पासवानलाई उक्त कार्यालयको आइटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलव र सो सम्बन्धी सम्झौता पत्र दिएर २ लाख रुपैयाँका दरले ठगी गरेको पाइएको रायले बताए ।राइनले दिएको नियुक्ति कीर्ते रहेको पाइएपछि पारस पासवान समेतले जिल्ला प्रहरी कार्यालयमा किर्ते ठगी शीर्षकमा जाहेरी दरखास्त दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
राइनलाई जिल्ला अदालतबाट सरकारी छाप कीर्ते र ठगी मुद्दा शीर्षकमा अनुसन्धान गर्न १० दिन हिरासत राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।
























