काठमाडौं । एक बालिका कराँते सिक्न जाने क्रममा आफ्नै गुरुबाट बलात्कृत भएकी छन् । ती बालिका ३ बर्षदेखि लगातार बलात्कारको शिकार हुँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर १ सुक्खाट घर भएका ३५ बर्षीय सागर शाही ठकुरीले काभ्रे जिल्ला घर भएकी १४ वर्षकी बालिका सुनिता लामा (नाम परिवर्तन)लाई निरन्तर बलात्कार गरेको पाइएको हो । ११ बर्षको उमेरदेखि नै यौनपिपासु शाहीले ती बालिका बलात्कार गर्दैआएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
बलात्कृत बालिकाका बाबु धावा लामा काठमाडौंतिरै सानोतिनो रेष्टुरेन्ट व्यवसाय गर्थे । धावाका एक छोरा र एक छोरी छन् । छोरीलाई भविष्यमा ठूलो खेलाडी बनाउने उद्देश्यले धावाले चिनजानकै साथी शाहीसँग कराँते सिक्न पठाएका थिए । धावाले साथीको विश्वासमा परी कराँते सिक्न पठाएकी छोरी शाहीबाटै बलात्कृत भइन् ।
सानैदेखि खेलप्रति रुची भएकी सुनिताले करिब ५–६ वर्षको उमेरमै कराँते सिक्न गइन् । उनी सितोरियोका ब्ल्याकबेल्ड समेत हुन् । ११ वर्षको उमेरमा उनी पहिलोपटक टेकुस्थित पचली भैरव सितोरियो डोजोभित्रै गुरु सागर शाही ठकुरीबाट बलात्कृत भएकी थिइन् । बलात्कारमा परेको कुरा अरुलाई भने घरपरिवार सबैलाई मारिदिने धम्की आएपछि लामाले डराएर बाहिर कसैलाई भन्न सकिनन् ।
बालिकाका आमाबुबा दुबैजना काममा गएको मौकामा शाही घरमै आइपुग्थे । सानोभाइलाई राम्रोसँग पढ्नु छैन भनेर झापाड हानेर बाहिर लखेटेर एक्लै बनाएर पटकपटक बलात्कार गरेको बयान पीडित लामाले दिएकी छिन् ।
गतवर्ष फागुन ६ गतेदेखि रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुरमा ‘मेयर कप राष्ट्रिय कराँते प्रतियोगिता–२०७७’ मा भाग लिनको लागि तिनै शाहीद्धारा सञ्चालित सतुंगल डोजोबाट १२ जना पुरुष र ३ जना महिला लिएर शाही पुगेका थिए ।
प्रतियोगिताको दोस्रो दिन खेल जितेको उपलक्ष्यमा राति शाहीले मदिरा पार्टी राखे । कहिल्यै मदिरा नपिउने सुनितालाई पनि कोल्ड ड्रिंग्समा मदिरा मिसाएर खुवाएको पत्तै भएन । रक्सीको नसामा शाहीसँगै कैलाली जिल्ला गोदावरी नगरपालिका मालाखेति घर भएका खेलाडी सन्देश बाँस्कोटालाई समेत ‘मोज गर’ भनेर सुनितालाई बलात्कार गर्न लगाए ।
कक्षा–८ मा अध्ययनरत लामालाई पुनः गत असोज–८ गते शाहीले असोजदेखि तराईमा प्रतियोगिता छ तालिमको लागि डोजो आउनु भनेर घरमै बोलाउन आए । तर उनी जान मानिनन् । विद्यालयमा सधैं प्रथम हुने सुनिता विस्तारै पढाइ बिग्रिदै गएको र एकान्तमा बसेर झोक्रेको देखेर बुबा धावालाई आफ्नो छोरीलाई केही त भएको छ भन्ने शंका गर्न थालेका थिए ।
पढाइ पनि बिग्रेदै गएको कराँतेमा रुचि नदेखाएको के भएको छोरी भनेर बुबालाई सोध्न थालेपछि सुनिता किचेनमा गएर रोएर बसिन् । बुबाले लगातार २ घन्टासम्म सोधेपछि उनले आफूमाथि भएको घटना बताउँदा बुबाले सुन्न सकेनन् । उनका बुवा एकोहोरो बने । किनकि उनले नसोचेको घट्ना आफ्नै छोरीको मुखबाट सुन्दै थिए ।
छोरीको कुराले आक्रोशित भएका धावा डोजो गएर शाहीमाथि झम्टिन थालेपछि शाही त्यहाँबाट फरार भए । उक्त घटनाको अर्का दोषी सन्देशलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरिसकेको छ । उनले सबै अपराध स्वीकार गरिसकेका छन् । महानगरीय प्रहरी परिसर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालिमाटीमा जाहेरी परेपछि प्रहरीले फरार शाहीको खोजी गरिरहेको छ ।
कराँते सिकाउने गुरुको भेषमा उनले धेरै बालिकालाई हवसको शिकार बनाएको खुलेको छ । शाही यसअघि पनि बलात्कार गरेकै आरोपमा पटकपटक जेल परेर निस्केको पीडितहरुको आरोप छ । उनले उक्त डोजोमा अरु धेरै बालिकाहरुमाथि यौनहिंसा गर्दै आएको तर परिवारको डरले कसैले भन्न नसकेको बताए । शाहीले अर्की बालिकालाई पनि बलात्कार गरेको मुद्दा परेपछि पछि उनलाई कान्छी श्रीमती बनाएर राखेको पीडितहरुले बताए । हाल शाही फरार छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । सन्देशलाई भने पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्