जनकपुरधाम असोज १७ गते । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ ।
जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको थियो । प्रदर्शनकारीले ‘मधेसविरोधी अख्तियार मुर्दावाद, संघीयताविरोधी अख्तियार मुर्दावाद, अख्तियारका प्रमुख प्रेमकुमार राई राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।
प्रदेश २ मा बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत खरिद गरेको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, जसपाले छापामार शैलीमा संघीयता समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै सडकमा विरोध जनाएको हो । अख्तियारले छापा मारेलगत्तै मुख्यमन्त्री राउतले संघीयताविरोधीको षड्यन्त्र भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्