Advertisement

सम्माननीय उपराष्ट्रपति यादवज्यूसंग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट

न्युजडेस्क
२०८३ आश्विन २, शुक्रबार १६:२२

२०८३ असोज २ गते शुक्रबार ।

काठमाडौं – सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि साउदी अरेबियाका महामहिम राजदूत फाहद मोहम्मद ए. मनिकरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा द्विपक्षीय सम्बन्ध, नेपाली आप्रवासी कामदार, आर्थिक सहयोग तथा नेपालमा हालै भोटेकोशी नदीमा गएको विनाशकारी बाढी लगायतका विषयमा विचार–विमर्श भएको थियो ।

उपराष्ट्रपति यादवले सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण सम्बन्ध रही आएको उल्लेख गर्नुभयो । उहाँले दुई मुलुकबीच विभिन्न तहमा भएको भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको विश्वास व्यक्त गर्दै यसलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उपराष्ट्रपति यादवले नेपाली आप्रवासी कामदारका लागि साउदी अरेबिया एक प्रमुख गन्तव्य रहेको र त्यहाँको सरकारद्वारा प्रदान गरिएका रोजगारी अवसरप्रति नेपाल सरकार र नेपाली जनताले उच्च प्रशंसा गर्न चाहेको बताउनुभयो । मार्च २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको सन्दर्भमा उहाँले यस अवसरलाई गरिमामय र स्मरणीय बनाउन अर्थपूर्ण कार्यक्रम तथा सहभागितामूलक गतिविधिहरू आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी तथा सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले ‘साउदी फण्ड फर डेभलपमेन्ट’ द्वारा नेपालका जलविद्युत्, यातायात तथा सिँचाइ क्षेत्रका परियोजनामा प्रदान गरिएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा ऊर्जा, पूर्वाधार तथा अन्य पारस्परिक चासोका क्षेत्रमा थप लगानीलाई स्वागत गर्ने बताउनुभयो ।

नेपाल–साउदी अरेबियाबीच २०२६ अगस्ट ३१ मा द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएकोमा खुशी व्यक्त गर्दै उपराष्ट्रपति यादवले यस सम्झौताले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हज तथा उमराहका लागि साउदी अरेबियाले नेपाली मुस्लिम समुदायलाई प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै, संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन तथा एशिया सहयोग संवाद लगायत बहुपक्षीय तथा क्षेत्रीय फोरमहरूमा नेपाल–साउदी अरेबियाबीचको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित द्वन्द्वको घटनाको नजिकबाट नियाँली रहेको उल्लेख गर्दै साउदी अरेबियामा रहेका नेपाली नागरिक लगायत त्यहाँको नागरिकको सुरक्षा र कल्याणका लागि साउदी अरेबियाले उठाएको कदमप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

हालै नेपालमा आएको विनाशकारी बाढीका पीडितप्रति साउदी अरेबियाले व्यक्त गरेको मैत्रीपूर्ण भावना र ऐक्यबद्धताप्रति उपराष्ट्रपति यादवले नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद दिनुभयो । उहाँले जलवायु परिवर्तनका प्रतिकूल प्रभावप्रति नेपाल संवेदनशील रहेको र जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको थप सहयोग आवश्यक रहेको औंल्याउनुभयो ।

सम्माननीय उपराष्ट्रपति यादवले साउदी अरेबियाको ९६औं राष्ट्रिय दिवसको अवसरमा महामहिम राजदूतमार्फत दुई पवित्र मस्जिदका संरक्षक तथा साउदी अधिराज्यका महामहिम नरेश सलमान बिन अब्दुल अजिज अल साउदसमक्ष उहाँको सुख, सुस्वास्थ्य र दीर्घायुको शुभकामना प्रेषित गर्नुभयो । यस अवसरमा उहाँले साउदी अरेबियाका मित्रवत् जनताप्रति निरन्तर शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

महामहिम राजदूत मनिकरले नेपालमा हालै गएको विनासकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल यस कठिन घडीबाट शीघ्र बाहिर आओस भन्ने कामना गर्नुभयो । उहाँले नेपालाई साउदी अरेबियाले विभिन्न क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा नेपाल र साउदी अरेबियाबीचको सम्बन्धलाई थप सुमधुर बनाउन निरन्तर प्रयास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर