कपिलवस्तु । हिरासतमा रहेका थुनुवाको स्थिति र समस्या जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी हिरासत पुगेका छन् । हिरासतमै पुगेर उनी आधा घण्टा बसे । शनिवारको बिहान जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाको स्थिति बुझे ।
गुनासो सुने । एसपी एकाएक आफै हिरासतमा पुग्दा सबै अचम्मित पनि भए । एसपी अधिकारीले थुनुवासित पलेटी कसेर भुईँमै बसेर थुनुवाको गुनासो सुने । उपरीक्षक नवराज अधिकारीले हिरासतमा रहेका थुनुवाको स्थिति, कुन कुन अभियोगमा थुनिएका, केके समस्या छन् जस्ता प्रश्न गरेका थिए । हिरासतमा रहेका थुनुवासित एसपी अधिकारीले सोधे, ‘तिमीहरुको मुद्दा केके हो ? तिमीहरुले पाएको खाना ठीक छ कि छैन ? स्वास्थ्य समस्या केही छ कि ?’ थुनुवाहरुले आफूहरुमाथि लागेको अभियोगका बारेमा एसपी अधिकारीलाई बताएका थिए । थुनुवाहरुले हिरासत र शौचालय सँगसँगै रहेकाले दुर्गन्धित भएको पनि गुनासो गरेका थिए ।
कतिपय थुनुवाले लागेको आरोपमा छिटो अनुसन्धान गरेर मुद्दा अदालत पठाइदिन आग्रह गरे । त्यस्तै, आफन्तलाई सहज रुपमा भेटघाट गर्न दिनुपर्ने पनि थुनुवाको माग थियो । थुनुवाको समस्या सुनेपछि आफूले सुधार गर्ने आश्वासन एसपी अधिकारीले दिए । कपिलवस्तुमा एसपी अधिकारीले अपराध अनुसन्धान, नियन्त्रणका लागि निरन्तर पहलकदमी लिएका छन् ।











