Advertisement

बैंक खाता रोक्का गर्न प्रचण्ड-नेपाल समूहले बैंकहरूलाई लेख्यो पत्र

न्युजडेस्क
२०७७ पुष १६, बिहीबार ०६:०६

काठमाडौं। नेकपाकाे दुवै समुहकाे झगडा बैंक खाता रोक्कासम्म पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको एउटा समूह (माधव नेपाल-प्रचण्ड) ले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार पत्र लेख्दै पार्टीको खाताहरू रोक्का गर्न आग्रह गरेको छ।

‘ओली समूहले पार्टीको सम्पत्ति र आर्थिक कारोबार कब्जा नगरोस्’ भन्दै बैंकलाई पत्राचार गरिएको प्रचण्ड-नेपाल समूहका एक नेताले दाबी गरे। ‘पार्टीको चुनावचिन्ह र सम्पत्तिको विषयमा अधिकारको कुरा निर्वाचन आयोगको निर्णयले कहिले टुंग्याउला भनेर हामीले पर्खिनै परेको छ,’ उनले भने, ‘त्यो बेलासम्म ओली समूहले पार्टीको आर्थिक कारोबार आफ्नो हातमा लिन नपाओस् भनेर बैंकलाई पत्र लेखेका हौं।’

पार्टीको एउटा गुटको पत्र आएपछि खाता रहेका बैंकहरू भने अलमलमा छन्। एउटाको आग्रहमा खाता बन्द गर्दा अर्को समूहको प्रतिक्रिया कस्तो हुने भन्ने उनीहरूलाई लागेको छ।

नेकपाको चल-अचल सम्पत्ति कहाँ के कति छ भन्ने तथ्य एकीकृत गर्न केन्द्र र प्रदेशस्तरमा समिति बनाएरै पार्टीमा काम भएको थियो। नेता-कार्यकर्ताबाट लेवी उठाउने नेकपाको सम्पत्ति २०७५ असारको तथ्यांकअनुसार तीन अर्बभन्दा बढी देखिएको थियो। काठमाडौंमै नेकपाको करोडौं मूल्यका पाँच वटा भवन छन्। भारतको नयाँ दिल्लीमा पनि एक करोड मूल्य पर्ने जग्गा छ।

एमाले र माओवादी केन्द्र एकीकृत भएपछि दुवै पार्टीको सम्पत्ति एउटै बनाउने प्रक्रिया अघि बढेको थियो।

दुई गुटमा विभाजित पार्टीमा चुनाव चिन्ह सूर्यमा दुवै पक्षले दाबी गरिरहेका बेला सम्पत्तिमा पनि दाबी परेको हो। दुवै गुटहरू बीच पार्टी कार्यालयमा आआफ्नो दाबी सुरू भए पनि राजधानीमा दुई गुटको बैठक-भेला गर्ने ठाउँ प्रष्ट छुट्टिइसकेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर