जनकपुरधाम, असोज २१ गते। औरही गाउँपालिका वडा नं. १, झिटकहियाका युवाहरुले गाउँमा खेलकुद मैदानको अभावका कारण विद्यार्थी तथा किशोर–किशोरीहरुलाई खेलकुद गतिविधिमा सहभागी हुन गाह्रो भएको भन्दै पालिकासँग औपचारिक माग गरेका छन्।
आज झिटकहियाका युवाहरुको अगुवाइमा गाउँपालिका अध्यक्ष (मेयर) उमाशंकर प्रसाद साह तथा उपाध्यक्ष (उपमेयर) समक्ष खेलकुद मैदानको व्यवस्था मिलाइदिनु पर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो।
युवाहरुको भनाइमा, “झिटकहिया जस्तो जनघनत्व बढी भएको क्षेत्रमा खेलकुदका लागि आधारभूत पूर्वाधार नै नभएकोले बालबालिका, किशोर–किशोरी तथा युवा पुस्ता शारीरिक, मानसिक तथा सामाजिक रुपमा पछि परिरहेका छन्।”
ज्ञापनपत्रमार्फत गाउँपालिकालाई तत्काल खेलकुद मैदानको जग्गा छुट्याएर संरचना निर्माण सुरु गर्न आग्रह गरिएको छ।
स्थानीय युवाहरुले माग पूरा गरिने मेयर साहले विश्वास व्यक्त गर्दै भनेका छन्, “हामी सबैको चाहना हो – झिटकहियामा एउटा स्तरीय खेलमैदान बनोस्, जसले हामीलाई स्वस्थ जीवनशैलीतर्फ डो-याओस् र प्रतिभाहरुको विकासमा सहयोग गरोस्।”
गाउँपालिकाले यो विषयलाई गम्भीरतापूर्वक लिएर चाँडै सकारात्मक निर्णय लिने अपेक्षा गरिएको छ।
























