काठमाडौं, १२ माघ । गृहमन्त्री रामबहादुर थापाले आगामी निर्वाचनको समय सर्वोच्च अदालतको निर्णयमा भर पर्ने बताउनुभएको छ । संसद विघटनको मुद्दामा सर्वोच्चले चाँडै फैसला गरेमा तोकिएकै मितिमा निर्वाचन हुने तर फैसलामा ढिलाइ भए निर्वाचन सर्ने गृहमन्त्री थापाको भनाइ छ ।
प्रेस सङ्गठन, कालीकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘वैशाखमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भर पर्छ, निर्वाचन आयोग र सुरक्षा निकायले सबै तयारी गरिरहेका छन् । तर अदालतको फैसला ढिला भयो भने निर्वाचन सर्न सक्छ ।’
उहाँले सरकारले निर्वाचनका लागि तोकेको समयलाई मध्यनजर गर्दै अदालतले पनि फैसला गर्ने बताउदै सकेसम्म तोकिएको मितिमै निर्वाचन हुने आशा रहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै मृहमन्त्री थापाले विभाजित नेकपा मिल्न नसक्ने बताउनु भयो ।
प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समुहमा विभाजित भएको छ । निर्वाचन आयोगले पनि कुन समुहलाई आधिकारिक नेकपा भन्ने निर्णय दिएको छैन । जसले नेकपाको विभिजित समुहलाई झनै अन्योल बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीसामु संसद विघटनका लागि सिफारिस गर्नुभएको थियो । सोही दिन राष्ट्रपतिले सिफारिसाई अनुमाेदन गर्नुभएको थियो ।
























