Advertisement
☰

हुम्लामा कोरोना महामारीलाई पूर्ण नियन्त्रणमा लिन के के गर्ने ?

न्युजडेस्क
२०७८ बैशाख २०, सोमबार १५:४२

डा. नितेश घिमिरे
पछिल्लो समय कर्णाली प्रदेशमा दैनिक कोरोना संक्रमित थपिने दर औसतमा २ सय नाघेको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिने दैनिक कोरोना परीक्षणमा २ सय भन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ ।

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लामा, दैनिक नेपाल्गन्ज र सुर्खेत बाट ३ देखि ४ उडान हुने गर्छन् । सिमिकोट विमानस्थल यतिसम्म फितलो छ कि यात्रुको पिसिआर त धेरै परको कुरा, मेरो निरिक्षणमा रहेको नम्खा गाँउपालिकाबाट आवतजावत गर्ने यात्रुको जानकारी समेत विमानस्थल विभाग सँग नहुने रहेछ । सरकारले आज रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपनि ढिलो भइसकेको छ ।

देशभर कोरोनाको दोस्रो लहर शुरु भएको पनि केहि हप्ता भैसकेको छ । मृत्यु दर झन् बढेर गएको छ । अस्पतालहरुमा बेड भरिएको र फेरि पनि हाम्रो तयारी नपुगेरै होला, हामी चुकेको संकेत पाइसकेका छौँ ।

म एक गाँउ पालिकाको डाक्टर भएर आफ्नो जिल्लालाई के सुझाब दिन सक्छु ? मेरा १० सुझाव :–
१. सडक सञ्जालमा नजोडिएको हुँदा, विमानस्थल नै मुख्य संक्रमण को स्थल हो । विमानस्थल छेउछाउ होटेलहरुलाई होल्डिङ सेन्टरमा परिणत गर्न तयारी गर्ने । खर्चको सोधभर्ना स्थानीय सरकारले गर्ने । प्रत्येक होटेलमा कम्तिमा दुईजना स्टाफ नर्स र एक जना मेडिकल अधिकृत राखी सामान्य लक्षण वा लक्षण नभएकाहरुलाई राखी निगरानि गर्ने र आवश्यक परे कोभिड–१९ अस्पतालमा पठाउने ।

२. सक्रिय संक्रमितहरुलाई पूर्ण रुपमा आइसोलेशन केन्द्र तथा कोभिड–१९ अस्पतालहरुमा राख्ने व्यवस्था मिलाउने ।

३. कोभिड–१९ अस्पतालहरुका लागि छिटो भन्दा छिटो फास्ट ट्रयाकबाट बजेट विनियोजन गर्ने ।

४. कोभिड–१९ मा काम गर्ने सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको लागी जोखिम भत्ता सुनिश्चित गर्ने ।

५. जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र र नेपाली सेना परिचालन गर्न आवश्यक निर्देशिका जारी गर्ने ।

६. संक्रामक रोग ऐन २०२० अन्तर्गत महामारीमा नीति नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने ।

७. अत्यावश्यक काम बाहेक घर बाहिर र सार्बजनिक स्थलमा ननिस्कन आब्हान गर्ने।

८. प्रत्येक नागरिकले घर बाहिर निस्कनु पर्ने अत्याबश्यक काम भएमा स्तरीय मास्कको अनिवार्य प्रयोग गर्ने। घर बाहिर मास्क प्रयोग नगरेमा दण्ड जरिवाना गर्न गराउन स्थानीय प्रशासनलाई अधिकार प्रत्यायोजन गर्ने ।

९. स्कूल, कलेज, विश्वविद्यालय, पाठशाला, होटेल, रेस्टुरेन्ट, सभा सम्मेलन, गोष्ठी, तथा अधिबेशन पूर्ण बन्द गर्ने ।

१०. लक्षण भएका संक्रमितहरुको पूर्ण उपचार तोकिएको अस्पतालहरुमा निःशुल्क गर्ने । लक्षण नभएका संक्रमितहरुले कोरोना सार्न तथा फैलाउन सक्ने भएको हुनाले, आईसोलेशन अवधि पुरा गर्न सहज वातावरण बनाउने र आइसोलेशन केन्द्रमा (होटेल लगायत विध्यालय) राख्ने ।

स्थानीय सरकार र सम्बन्धित निकायले जिल्लामा काम गरिरहेका चिकित्स्क लगायत अन्य स्वास्थ्यकर्मीलाई समयको माग अनरुप परिचालन गर्न सके, यो महामारीको युद्धमा सायद हुम्लालाई कोरोना मुक्त जिल्ला भनेर घोषणा पो गर्न सकिन्छ कि ?

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर