काठमाडौं , युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको कोटेश्वरबाट कटुवाललाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिई सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार रुपैयाँ लिएका कटुवालले जग्गा र बैना रकम नदिएपछि उनले प्रहरीमा उजुर गरेका थिए ।
फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नु’ भन्ने अन्तरिम आदेश लिएर बसेका थिए । उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हाे । ठगीमा संलग्न भनिएका मोरङ केराबारी घर भएका धीरजकुमार दाहाल भने फरार छन् । प्रहरीका अनुसार रुसिल कटुवाल र धिरजकुमार दाहालले काठमाडौंको सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीलाई मोरङ, केराबारी–६ स्थित विभिन्न कित्ता जग्गाहरु देखाएर ६८ हजार ९० लाख रुपैयाँ लिएका थिए ।
तर, जग्गा पास नगरी सम्पर्कविहीन भएपछि मोरङको मालपोत कार्यालयमा गएर बुझ्दा धिरज कुमार दाहालका नाममा रहेको भनिएको जग्गा अर्कैका नाममा विक्री भइसकेको पाइएपछि अधिकारी प्रहरीसमक्ष पुगेका हुन् । फरार रहेका दाहालको समेत खोजी भइरहेको प्रहरीको भनाइ छ। कटुवालमाथि अन्य व्यक्तिलाई समेत ठगी गरेको आरोप छ। युवा संघको आडमा उनले धरानदेखि काठमाडौंसम्म विभिन्न व्यक्तिलाई ठगेको आरोपमा उजुरी परेको प्रहरीले बताएको छ।
























