द प्रदेश टाइम्स/ जनकपुरधाम । धनुषाको कमला नगरपालिका -५ लक्कडस्थित स्वास्थ्य चौकीको छतमै ‘डान्स प्रोग्राम’ गराएको छ । जितियाको अवसरमा स्वास्थ्य चौकीकै भवनको छतमा गरिएको ‘डान्स प्रोग्राम’को भिडियो सार्वजनिक भएको हो ।
माथि छतमा नृत्य चल्दै गर्दा तल ठूलो भिड लागेको भिडियो देखिन्छ । अधिकाँशले मास्क समेत लगाएको देखिदैन । स्थानीय शम्भु यादबले भिडियो सार्वजनिक गर्दै प्रश्न गरेका छन्, ‘यो बिकृति, कुरिती कि विकास ? कि एकदिन यस्ता मनोरञ्जनका लागि यो ठाउँ प्रयोग गर्दा फरक पर्दैन कि यो कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय हो ?’
डान्स प्रोग्राम स्वास्थ्य चौकीमै गरेपछि जनप्रतिनिधिहरुको कडा आलोचना भइरहेको छ । प्रोग्राम गरिएको स्वास्थ्य चौकीकै छेउमा वडा कार्यालय समेत छ । तर जनप्रतिनिधिले केहि बोलेनन् । स्थानीयका अनुसार वडाध्यक्षले नै प्रोग्राम गर्न अनुमती दिएका थिए ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि धनुषा जिल्लाभर निषेधाज्ञा जारी भएको बेला अत्यधिक भिडभाड गरी गाउँ गाउँमा साँस्कृतिक कार्यक्रम गरिएको छ । तर प्रशासन मौन छ । कार्यक्रमका लागि अनुमती दिने जनप्रतिनिधलाई कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्