डाेटी – १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका बझाङका १६ वर्षका राजेन्द्र बोहोरा भागेका छन् ।
डोटी जिल्लाको बालसुधार केन्द्रमा राखिएका उनी गएराति भागेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो । बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका उनको उमेर कम भएकाले पूर्पक्षकालागि जिल्ला बालसुधार केन्द्र डोटीमा राखिएको थियो ।
बोहाेरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना भएका बोहाेरा गएराति ११ बजेतिर हराएका र उनको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । बोहाेराले सम्झना विकलाई बलात्कार गरी हत्या गर्नुपूर्व मष्टा गाउँपालिकाकै १४ वर्षीया अर्की बालिकालाई पनि बलात्कार गरेको अभियोग लागेको छ
त्यस घटनालाई गाउँमै मिलापत्र गराउने ८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । बोहाेराको खोजीको लागि जिल्लामा प्रहरी प्रमुख पाण्डेय, डीएसपी इन्द्रबहादुर मल्ल र निरीक्षक कान्तिराज जोशीसहितको प्रहरी टोली परिचालन भएको छ ।
प्रतिक्रिया दिनुहोस्