काठमाडौँ, २ पुष । नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो। काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् ।
दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण गत चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो ।
कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो ।
कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्