हसुलिया, १५ फागुन । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा आजदेखि थरुहट÷थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन हुँदैछ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले युवा दस्तासहित सम्मेलन गर्न लागेको हो ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा सहभागिताका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारी रहेको जनाइएको छ । आज मध्याह्न १२ बजे एक कार्यक्रमकाबीच सम्मेलनको उद्घाटन गरिने मोर्चाका प्रवक्ता मिनराज थारुले जानकारी दिए । उनका अनुसार सम्मेलन उद्घाटनको क्रममा थरुहट युवा दस्ताको मार्च पाससमेत हुनेछ । सम्मेलनमा ५० हजार व्यक्तिको सहभागिता गराउने आयोजकले दावी गरेको छ । सम्मेलन उद्घाटनपछि बन्दसत्र सुरु हुने र घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।
टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला, संविधानप्रति थारु समुदायको असन्तुष्टि, राज्य पुनःसंरचना गर्दा गरिएको सिमांकन र नामांकनप्रति रहँदै आएको विमति लगायतका सवालमा सम्मेलनमा गहन ढंगले छलफल गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्