वीरगञ्ज । २०७६ साउन २४ गते वीरगञ्जमा भएको बम विस्फोटको घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । प्रहरीले विवेक सिंह उपनामले चिनिने ३३ वर्षीय फुलहसन अन्सारीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
सोमबार बिहान ४ बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित आफ्नो घर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।‘वीरगञ्जमा पटक पटक भएको विष्फोटको घटनाका मुख्य योजनाकार उनी नै भएको भन्ने खुलेको छ’ उनले भने । अन्सारीले नेपाली व्यापारीलाई धम्की दिने र फिरौती लिने जस्ता काम पनि गरेको खुलेको एसपी पाण्डेले बताए ।
उनीविरुद्ध विष्फोटक पदार्थ, हातहतियार तथा खरखजाना र संगठित अपराधसम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन छ ।
०७६ साउन २४ गते साँझ ७ बजे वीरगञ्जको बिर्ता बजारमा र साउन २८ गते बेलुका सवा ८ बजे घण्टाघर नजिकको तरकारी बजारमा सुतली बम पड्काएको घटना उनको योजनामा भएको प्रहरीको भनाइ छ ।
अन्सारीले पर्साको तत्कालिन रामगढवा गाविस–८ स्थायी ठेगाना उल्लेख भएको गरिएको नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । तर अनुसन्धानको क्रममा उनले भारत बिहार, पूर्वी चम्पारण, आदापुर, श्यापुर ग्राम पञ्चायतमा आफ्नो नाम र पहिचान ढाँटेर आधार कार्ड बनाएको पनि पाइएको छ ।
अन्सारी ०६५ पुस ७ गते वीरगञ्जका व्यापारी राजेश क्यालको गोली हानी हत्या भएको घटनामा संलग्न थिए । उनलाई प्रहरीले ०६५ पुष १६ गते घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको थियो । उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
कैद भुक्तान गरिरहेको समयमा उनी २०७४ सालको दशैँमा ५६ प्रतिशत कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट थुनामुक्त भएका थिए । त्यसपछि उनी पुनः आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
फुलहसनले वीरगञ्ज महानगरपालिका– २० अपौनीका विदेशी साहको समूहमा आवद्ध भई थुप्रै आपराधिक घटना घटाएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्