काठमाडौँ । नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ ।
ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ ।
‘चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हौं, योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकिङमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको छ,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।उनले बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको जाँच एव अनुगमन गर्ने, पूर्ण पालना गर्नलगाउने र सचेतना समेत जगाउने बताए ।
दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरुमा २४सैं घण्टा जाँच हुने गरेको छ । चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जाँचलाई समेत कडाइ पार्ने योजनामा उल्लेख छ ।चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे जाँच गरी कडाइ गरिने एसएसपी भट्टराईले बताए ।
थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारीसाधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ । मुख्यतया लामो दूरीका सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखे नराखेको, बढी भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।महाशाखाले सार्वजनिक गरेको बिशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ । चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ती परिचालन गर्ने महाशाखाको योजना छ ।
विशेषगरी बसपार्क एरिया, उपत्यका प्रबेश गर्ने नाकाहरु, सपिङ्ग कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरुमा किनमेलका लागि आउने मानिस तथा सवारी साधनको बढि भीडभाड हुने गर्छ, त्यस्ता स्थानहरुमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ती परिचालन गरी सहज आवागमनको व्यवस्था मिलाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए ।उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।
आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षा सम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ ।यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखालेउल्लेख गरेको छ ।नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यबहार, गन्तब्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रियरहने एसएपी भट्टराईले बताए ।अन्य समयको तुलनामा चाडपर्वको समयमा बिशेष गरि गंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडिबुटी लगायतका भीडभाड हुने स्थान र टिकट काउन्टरहरुमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छ÷छैन चेकजाँच गर्न रपकेटमार तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ ।तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
























