काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
सोमबार काठमाडौंबाट गृहजिल्ला पुगेका भट्टराईले मास्क, स्यनिटाइजर, उच्च प्रविधिको अक्सिजन कन्सन्ट्रेटर लगायतका सामग्रीहरू प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका प्रतिनिधिहरूकाे समन्वयमा वितरण गरेका हुन् ।
यसैक्रममा डा.भट्टराईले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति (जिसस) का प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसँग कोरोना भाइरस संक्रमण रोकथामका विषयमा छलफल र परामर्श पनि गरेका छन् ।
पालुङटार नगरपालिका-१, लाई अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री वितरण गरेका छन् । यस्तै गोरखा नगरपालिका-१०, भिमसेन थापा गाउँपालिका-३, सहिद लखन थापा गाउँपालिका-३, सिरानचोक गाउँपालिका-७ वडामा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले सामग्रीहरू उपलब्ध गराएकाे स्वकीय सचिव राेशन पाेखरेलले जानकारी दिए ।
पेटको एनआइटीको शल्यक्रिया गरी वैशाख २२ मा अस्पतालबाट बाहिरिएका उनलाई डाक्टरहरूले आराम गर्न सुझाव दिएका कारण कोरोनापीडितहरूको सहयोगका लागि गोरखा जान नसकेको डा.भट्टराईले बताउँदै आएका थिए ।













