द प्रदेश टाइम्स / जनकपुरधाम कोरोना महामारीका कारणले गत ४ महिना २० दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खुल्ला गरिएको छ ।
महामारी नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लकडाउन अवधिमा मन्दिरको मूल ढोका बन्द रहको थियो । बीचमा असार ३ गते दूईदिनका लागि खोलिएको थियो तर संक्रमणलाई देखिएपछि फेरी बन्द गराइएको थियो ।
गत चैत्र १५ गते देखि जानकी मन्दिरको मूल ढोका लगातार बन्द गरिएकोमा अहिले खुल्ला गर्ने काम भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए । सामाजिक जुरी कायम राखेर पूजा पाठ गर्नुपर्ने छ । लकडाउनकै समयमै रामनवमी, जानकी नवमी, झुला उत्सव भएको थियो ।
जानकी मन्दिर स्थापना भएको पाँच सय वर्षको इतिहासमा पहिलो पटक मूल ढोका ८१ दिनसम्म लगातार बन्द रहेको र २ दिन बीचमा खोलेर फेरी लगातार बन्द गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वताए ।
मन्दिरका संस्थापक महन्थ सुरकिशोर दास वैष्णवले स्थापना गरेको जानकी मन्दिर सुरुमा सानो आकारको भए पनि भारतका टिकमगढका महारानी बृषभानु कुमारीले एक सय २६ वर्ष अगाडी तत्कालीन ९ लाख असर्फी मुद्रामा अहिलेको जानकी मन्दिरको विशाल मन्दिरको निर्माण गराएका थिए ।
विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रूपमा रहेको जानकी मन्दिर खुले पनि भक्तजनहरू कमै मात्रामा पूजा पाठका लागि आउने गरेका छन् । मन्दिरमा आउने भक्तजनहरू प्रायः स्थानीय नै रहेको उत्तराधिकारी महन्थ दासले जानकारी दिए ।
लकडाउन अवधिभरिमा मन्दिरको मूल ढोका बन्द रहे पनि भित्र पूजारी तथा महन्थहरुले परम्परागत रूपमा चल्दै आएको पद्धतिद्वारा नियमित रूपमा पूजापाठ आयोजना गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्