Advertisement

पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

न्युजडेस्क
२०८० फाल्गुन १३, आईतवार ०८:३०

ललितपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गर्नुभएको छ । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै पहिचानका आधारमा प्रदेशलाई नामाकरण गर्न सरकारले ढिलाई गर्न नहुने बताउनुभयो ।
‘जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामाकरण गर्यो, त्यो हामीलाई मान्य छैन’, जसपा अध्यक्ष यादवले भन्नुभयो,– ‘नामाकरणको बिषयमा मधेश प्रदेश बाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारले यसलाई समय छँदै सम्बोधन गर्नुपर्छ ।’
‘पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले मधेश बाहेक बाकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनः नामाकरणको आन्दोलनले बिष्फोटक रुप लिन सक्ने दाबी गर्नुभयो ।
मधेशका जनताको ठूलो संघर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेश प्रदेश सम्भव भएको स्मरण गर्दै उहाँले पहिचानको मागलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराउनुभयो ।
मधेशी, आदिवासी जनजाति, दलित, सीमान्तकृत जनताले अधिकार र पहिचानका लागि संयुक्त रुपमा संघर्ष गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘एक्लै लडेर हुँदैन, अधिकार प्राप्तिका लागि सबै उपेक्षित जनता एक ठाउँमा उभिनुपर्छ’– उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर