Advertisement

संविधान संशोधनको अपरिहार्यतामाथि जसपा नेपालको अन्तरक्रिया

न्युजडेस्क
२०८३ आश्विन ३, शनिबार १८:२०

जनकपुरधाम, असोज ३ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, धनुषाले विरोध दिवसको अवसरमा “वर्तमान संविधानका मूलभूत विषयवस्तु तथा संविधान संशोधनको अपरिहार्यता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

जसपा नेपाल जिल्ला कार्यसमिति, धनुषाको आयोजनामा उद्योग वाणिज्य संघ, जनकपुरधाममा आयोजित कार्यक्रममा जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षता रहेको थियो भने पार्टीका केन्द्रीय उपाध्यक्ष प्रमेश्वर साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा वक्ताहरूले संविधान जारी भएको एक दशक बितिसक्दा पनि मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायका अधिकार र पहिचानसँग सम्बन्धित धेरै विषय अझै सम्बोधन हुन बाँकी रहेको धारणा राखेका थिए। उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका थिए।

प्रमुख अतिथि प्रमेश्वर साहले संविधानलाई समयानुकूल परिमार्जन गर्दै सबै समुदायको समान सहभागिता, प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संविधान संशोधन लोकतान्त्रिक प्रक्रियाको अभिन्न हिस्सा भएको उल्लेख गर्दै समावेशी र न्यायपूर्ण राज्य निर्माणका लागि आवश्यक सुधार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष पशुपति यादवले संविधानमा रहेका असमानता र अपूर्णताहरू सच्याउन तथा जनताको भावना अनुसार राज्य व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले संविधान संशोधनको पक्षमा जनमत निर्माण गर्न यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर