जनकपुरधाम, १७ चैत । मुख्यमन्त्री लालबाबु राउतले शिक्षामा पहुँच नहुँदा मुस्लिम समुदाय पछाडी परेको बताउनुभएको छ ।
महोत्तरीको मनरासिशवा नगरपालिका–८ कटैयामा मंगलबारदेखि शुरु भएको जलसा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अभिभावकहरुबाट बालबालिकालाई विद्यालय पठाउने प्रतिबद्धता समेत गराउनुभयो ।
सानै उमेरमा काममा लगाउँदा मुस्लिम समुदायका बालबालिका शिक्षाबाट बञ्चित हुनुपरेको उहाँको तर्क थियो ।
प्रदेश सरकारले मुस्लिमहरुको लागि पनि आरक्षणको व्यवस्था गरेको हुनाले बालबालिकालाई शिक्षित बनाउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिनुभयो ।
मुख्यमन्त्री राउतले शिक्षित भए मात्रै आरक्षणको लाभ लिन सक्ने भएकोले अभिभावकहरुलाई समेत यसमा गंभिर हुनको लागि आग्रह गर्नुभयो ।
सो अवसरमा मनराशिसवा नगरपालिकाका मेयर संजय सिंह, जनकपुरका पूर्व उपमेयर एवम् मुस्लिम अगुवा असगर अली लगायतले शुभकामना मन्तव्य राख्दै शिक्षामा जोड दिन आग्रह गर्नुभएको थियो ।











