धनुषामा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आईटी आर्मीले प्रदर्शन गरेको छ । आइटी आर्मीले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले यसलाई तुरुन्त खारेज गर्नुपर्ने माग गर्दै धनुषाको सबैला नगरपालिका मा प्रदर्शन गरेका छन् ।
आईटी आर्मीको जिल्ला संयोजक प्रेम साहको नेतृत्वमा सबैलाको भठियनमा युवाहरुले एमसीसी विरुद्ध नाराबाजी गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले “देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, नो एमसीसी” लगायतका नारा लगाउँदै सबैला नगर परिक्रमा गरेका थिए ।
एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएकाले यसले मुलुकलाई अस्थिरता तर्फ लगि विनाशको बाटोमा पुर्याउने हुँदा कुनै पनि शर्तमा यो सम्झौता लागू गर्न नहुने आईटी आर्मीको सद्स्य किरण कापारले बताए ।
उनले अहिले सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट एमसीसी पास गर्न तर्फ अग्रसर भएकाले त्यस्तो दुस्साहस नगर्न सरकारलाई चेतावनी दिँदै त्यसो गरेमा राष्ट्रव्यापी सशक्त आन्दोलन गर्ने घोषणा गरे ।
























