काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ । निगमले अप्रिल २०२२ देखि नै व्यवसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन ।
























