Advertisement
☰

सार्वजनिक शिक्षा, जलवायु परिवर्तन विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम

न्युजडेस्क
२०८३ आश्विन १३, मंगलवार १९:१०

धनुषा, असोज १३ गते। सार्वजनिक शिक्षा, जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा, वातावरण तथा विपद व्यवस्थापनका क्षेत्रमा देखिएका चुनौती, अवसर र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै सभामुख रामअशिष यादवले सार्वजनिक शिक्षा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुदृढीकरण र दक्ष जनशक्ति उत्पादनका लागि सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले जलवायु परिवर्तनको असर दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा विपद पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

महिला, बालबालिका तथा सामाजिक न्याय समिति सभापति रुपा यादवले महिला, बालबालिका तथा विपन्न समुदायहरू जलवायु परिवर्तन र प्राकृतिक विपदबाट सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरूको संरक्षण तथा सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्। उनले सार्वजनिक शिक्षामा पहुँच र गुणस्तर वृद्धि गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

प्रदेश मामिला समिति सभापति रत्नेश्वर लाल गोइतले प्रदेशस्तरमा शिक्षा सुधार, वातावरणीय संरक्षण तथा विपद जोखिम न्यूनीकरणका लागि नीतिगत सुधार र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले स्थानीय तह र प्रदेश सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।

शहीदनगर नगरपालिकाकी उपमेयर सुरिता सिंहले स्थानीय तहले शिक्षा, वातावरण संरक्षण तथा विपद व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै समुदायको सक्रिय सहभागिता बिना दीगो परिणाम हासिल गर्न कठिन हुने बताइन्। वडा नं. ५ का अध्यक्ष सुरेश कापरले स्थानीय स्तरमा देखिएका समस्या तथा चुनौतीहरू प्रस्तुत गर्दै आवश्यक स्रोत–साधन र बजेट व्यवस्थापनमा सरोकारवालाको ध्यानाकर्षण गराए।

पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डलले जलवायु परिवर्तनका कारण कृषि, स्वास्थ्य, खानेपानी तथा जनजीवनमा परेको प्रभावबारे चर्चा गर्दै समुदायमा सचेतना अभिवृद्धि तथा स्थानीय पहललाई प्रोत्साहन गर्नुपर्ने बताए। यूएनडीपी (UNDP) का प्रतिनिधि बिटु श्रीवास्तवले जलवायु परिवर्तन अनुकूलन, विपद जोखिम न्यूनीकरण तथा दिगो विकासका क्षेत्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले गरिरहेको सहयोगबारे जानकारी गराए।

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीय नागरिक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले शिक्षा क्षेत्रमा देखिएका समस्या, विद्यालय व्यवस्थापन, वातावरणीय चुनौती तथा विपद व्यवस्थापन सम्बन्धी आफ्ना जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए। सहभागीहरूले गुणस्तरीय शिक्षा, सुरक्षित विद्यालय वातावरण, वृक्षारोपण, जलस्रोत संरक्षण तथा विपद पूर्वतयारीका कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए।

पत्रकार कैलाश दासले सञ्चालन गरेको उक्त कार्यक्रम महिला, बालबालिका तथा सामाजिक न्याय समिति र प्रदेश मामिला समितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा यूएनडीपीको सहकार्य तथा पिपुल प्रमोट सेन्टरको समन्वय रहेको थियो। कार्यक्रमको अन्त्यमा प्राप्त सुझाव तथा निष्कर्षलाई सम्बन्धित निकायसम्म पुर्‍याई नीतिगत तथा व्यावहारिक सुधारका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर