जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा (एमाले) सँग सहकार्य गरी सरकारमा सहभागी हुने विषयमा हालसम्म कुनै निर्णय, नीति वा समझदारी नभएको स्पष्ट पारेको छ।
पार्टीको नाम र तस्बिर जोडेर सामाजिक सञ्जालमा फैलाइएका विभिन्न प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै जसपा नेपालले त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको जनाएको छ।
पार्टीका अनुसार एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुने विषयमा न त कुनै औपचारिक निर्णय भएको छ, न कुनै नीति लिइएको छ, न त कुनै समझदारी नै भएको छ। तत्काल यस्तो सहकार्य सम्भव नरहेको अवस्था रहेको पनि पार्टीले स्पष्ट पारेको छ।
बेग्लै प्रसङ्गमा खिचिएको तस्बिरलाई प्रयोग गरी फेसबुकलगायत सामाजिक सञ्जालमा केही व्यक्तिले गलत तथा भ्रमपूर्ण प्रचार गरेको भन्दै पार्टीले आश्चर्य र दुःख व्यक्त गरेको छ। पार्टीले यस्ता कपोलकल्पित, पूर्वाग्रहपूर्ण तथा भ्रामक प्रचारमा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
जसपा नेपालले हालसम्म सरकार गठनका लागि कुनै दाबी नगरेको, कुनै दलसँग समर्थन नमागेको तथा कुनै पनि पार्टीलाई समर्थन गर्ने वा नगर्ने विषयमा सम्झौता नगरेको पनि स्पष्ट पारेको छ।
पार्टीले वास्तविकता नबुझी सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना तथा प्रचारप्रति सचेत रहन र आधिकारिक जानकारीका आधारमा मात्रै धारणा बनाउन आग्रह गरेको छ।


तपाईको प्रतिक्रिया !