Advertisement

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

न्युजडेस्क
२०८२ माघ १३, मंगलवार १८:११

राजविराज १३, माघ। जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले मधेश र मधेशी जनताको अस्तित्व रक्षा र भविष्य सुनिश्चितताका लागि जनताले मतदान गर्दा विवेकपूर्ण निर्णय लिन आग्रह गरेकी छिन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित खुरहुरियामा मङ्गलबार आयोजित पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

मधेश जनविद्रोह लगायतका आन्दोलनहरुबाट प्राप्त उपलब्धी रक्षाका लागि जनताले आफू र भावी सन्ततीका लागि गम्भीर बन्न आग्रह गर्दै उनले भनिन्- ‘यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्र र मधेश विरोधी शक्तिहरु भ्रम छर्न सक्रिय रहेकाले त्यस्ता भ्रममा नपरी जवाफ दिन तयार रहनुपर्दछ ।’

यसैगरी, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सचिव एवम् पूर्व मन्त्री शैलेन्द्र प्रसाद साहले जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित, सिमान्तकृत समुदाय तथा जातीहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि पार्टीका अध्यक्ष निरन्तर सङ्घर्षशील रहेको चर्चा गरे ।

विगतमा मधेशीलाई छालाको रङ्गको आधारमा विभेद गर्ने गरिएको स्मरण गर्दै उनले भने ‘छालाको रङ्गको आधारमा मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो तर अहिले मधेश र मधेशीको पहिचान नीतिगत रुपमा संस्थागत भएको छ ।’

कार्यक्रममा जसपा नेपालका जिल्ला नेता सुनिल कुमार झा, उपाध्यक्ष हरेराम यादव, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, युवा नेता धनेश्वर यादव, उषा साह, जिल्ला सचिव जयनारायण यादव, तेजनारायण यादव लगायतले मन्तब्य व्यक्त गरे ।
मङ्गलबारै पत्थरगाडा र राजविराजमा समेत कार्यकर्ता तथा समर्थकहरुसँग चुनावी छलफल आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर