धनुषाको धनुषाधाम नगरपालिका-१ जानकी निवासमा २८ करोडको लागत जैविक मलको उद्योग स्थापना हुने भएको छ।
प्रदेश-२ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाका सचिव योगेन्द्रकुमार कार्कीले उद्योग स्थापनाका लागि शिलान्यास समेत गरिसकेका छन्।
उनीहरुले शनिबार संयुक्त रुपमा ‘आरोह फर्टिलाइजर प्रा.लि.’ को शिलान्यास गरेका हुन्। सोही कार्यक्रमकाबीच उद्यमी अङ्गकमल लामाले एक बर्षभित्र उद्योगको काम सम्पन्न गरेर उत्पादनको कामसमेत सुरु गर्ने बताए।
उद्योग सञ्चालनमा आएपछि सुरुको बर्षमा ७ हजार ५ सय मेट्रिक टन जैविक मल उत्पादन गर्ने र क्रमश उत्पादन बढाउँदै लैजाने उनको भनाइ थियो। नेपालमा पहिलो पटक जैविक मल उत्पादनको उद्योग स्थापना हुन लागेको हो। अनुभवी व्यवसायीको संलग्नतामा सञ्चालन हुने यस उद्योगबाट राज्यमा मलको आयात कम हुने विश्वास उद्यमीहरुले गरेका छन्।













