काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली नेपालको चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ।
टोली कतार हुँदै काठमाडौं आइपुगेकी हुन् । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सहमति भएको थियो। अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सोसम्बन्धी सहमति भएको थियो। नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएकी हुन् । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । नेपाल भ्रमणको अघिल्लो दिन एमसीसीले नेपालले सोधेको प्रश्नमा जवाफसमेत पठाएको छ। नेपालले एमसीसीबाट प्राप्त रकम विद्युत् प्रसारण लाइन निर्माणलगायतमा लगानी गरेको छ।
चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।
सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन ।हालै नेपाल सरकारले स्पष्ट हुन खोजेका विषयमा एमसीसीले जवाफ पठाएको छ ।
सो क्रममा एमसीसीले अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग यसको सम्बन्ध नभएको जनाएको छ । सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने करिब ६० अर्ब रुपैयाँ सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो।
प्रतिक्रिया दिनुहोस्