विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो ।खुकुरी प्रहारबाट घाइते भएका उनको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए ।प्रहरीका अनुसार अदालत छेउमा रहेको एउटा ल–फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि दुई जनाको समूहले एक्कासि खुकुरी प्रहार गरेको थियो । खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए । घटना छुट्याउँदा उनको पनि शरीर र कपडाभरि रगत लागेको छ ।
लामाको लगानी रहेको मोरङको कटहरीको इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय विवाद थियो । प्रहरीका अनुसार त्यसअघि उद्योग मोरङको नोचाका मोहम्मद साजितको नाममा रहेको खुलेको छ । उद्योगमा साजित र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो । साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आधाआधा शेयर रहेको उद्योग पाँच वर्षका लागि लामालाई साजितले लिजमा दिएको पाइएको छ ।प्रहरीका अनुसार दुई जनाबीच लिजको विषयलाई लिएर विवाद भइरहन्थ्यो । इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको हुनसक्ने प्रहरीको दाबी छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अनुसन्धान जारी रहेको बताए । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्की पक्राउ परेका छन् । खुकुरी प्रहार गरी भाग्दै गर्दा कार्की पक्राउ परेका थिए । घटनामा संलग्न भनिएका अर्का एक युवा फरार छन् ।
























